काठमाडौं : रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको मुभिज चार्टतर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको छ ।
समाचार तयार पार्दासम्म ट्रेलरले करिब साढे ७ लाख भ्युज पाएको छ । ट्रेलरमा दयाहाङ राईको काजी अवतार, विपीन कार्कीको नयाँ प्रवेश, मैयासँगको सम्बन्ध र काजीको वैवाहिक जीवनमा आउने उतारचढावले दर्शकको ध्यान खिचेको छ । विशेषगरी विपीनको नयाँ अवतारलाई लिएर दर्शकमा उत्सुकता देखिएको छ ।
हास्य, पारिवारिक सम्बन्ध, ट्विस्ट र एक्सन समेटिएको ट्रेलरले ‘कबड्डी’ शृङ्खलाको पुरानो स्वादसँगै नयाँपनको संकेत गरेको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा असोज ३० गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, मिरुना मगरलगायत कलाकारको अभिनय छ ।


















