Sur Cinema

निरुताको रहस्यमय अवतारमा ‘सारथी’, यस्तो छ प्रोमो

काठमाडौं : अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर भूमिकामा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’को एक मिनेट लामो प्रोमो सार्वजनिक गरिएको छ। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक प्रोमोले चलचित्रप्रति दर्शकको कौतुहलता बढाएको छ।

बच्चाको रोदनबाट सुरु हुने प्रोमोमा निरुतालाई काखमा दुधे बालक बोकेको अवस्थामा देखाइएको छ। उनको पैतालाबाट रगत बगिरहेको दृश्यले प्रोमोलाई रहस्यमय र भावनात्मक बनाएको छ।

कुमार गजुरेलको निर्देशनमा बनेको सिनेमामा निरुता सिंहसँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसीलगायत कलाकारको अभिनय छ। म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको सिनेमा आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ। सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् भने निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्।