काठमाडौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सकिएको छ। असोज २ गतेदेखि काभ्रेको धुलिखेलमा सुरु भएको छायांकन दसैँलगत्तै पुनः सुरु हुने निर्देशक मिलन चाम्सले जानकारी दिएका छन्।
पहिलो सेड्युलको छायांकनमा मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित भएर दृश्यहरूको अवलोकन गरेका थिए। निर्देशक चाम्सका अनुसार आफ्नै जीवनमा आधारित सिनेमा छायांकन भएको देख्दा श्रेष्ठ भावुक हुनुका साथै कामप्रति सन्तुष्ट पनि देखिएका थिए।
सिनेमामा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी, उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी, हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री र उनकी श्रीमतीको भूमिकामा वर्षा राउत देखिनेछन्। मिलन चाम्सको निर्देशन तथा यम थापाको कथा र पटकथा रहेको सिनेमामा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह र जीवनका संघर्ष समेटिनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा राजकुमार श्रेष्ठले निर्माण गरिरहेको ‘म मदनकृष्ण’ चैत ४ गतेदेखि प्रदर्शनमा आउनेछ। सिनेमामा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकीलगायत कलाकारको पनि अभिनय रहनेछ।


















