Sur Cinema

‘बलिदान’को टिजर रिलिज, न्याय र देशभक्तिको ज्वाला प्रज्वलित

काठमाडौं – बहुप्रतिक्षित सिनेमा ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ। सन्तोष सेन निर्देशित यस सिनेमाको टिजरले दर्शकहरूमा देशभक्ति, क्रोध र न्यायको भाव जगाएको छ।

यस वर्षको दशैँ (असोज १३)मा प्रदर्शन हुने यो सिनेमाको टिजरमा देशको रक्षा गर्ने प्रण, न्यायको खोजी र विद्रोहको भाव सशक्त रूपमा प्रस्तुत गरिएको छ। टिजरको सुरुवातमा देशको एक हिस्सालाई निशानामा पारिएको दृश्य र त्यसलाई रोक्न नसकिएको सन्दर्भ देखाइएको छ।

अभिनेता सौगात मल्ल मसाल बोकेर दृढताका साथ उभिएका छन् भने हेमन्त बुढाथोकीको शक्तिशाली संवादले टिजरको भावलाई थप गहिरो बनाएको छ। टिजरमा अर्पण थापालाई एक सशक्त राजनेताको रूपमा प्रस्तुत गरिएको छ।

अभिनेत्री ऋचा शर्माको संवादले टिजरको भावनात्मक केन्द्रबिन्दुको काम गरेको छ। उनले सोधेको प्रश्न, “के यो धर्तीमा अब त्यस्तो युग पुरुष जन्मिँदैन, जसले ती राक्षसहरूको घाँटी रेटोस्?” ले दर्शकको मन छुन्छ।

टिजरमा ‘एक्सन किङ’ को रूपमा चिनिएका अभिनेता समीर भट्टको शक्तिशाली एक्सन दृश्य प्रमुख आकर्षण बनेको छ। उनको संवाद, “यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” ले दर्शकमा उत्साह भरेको छ।

निर्देशक सन्तोष सेनले ‘बलिदान’ लाई हरेक नेपालीको विद्रोहको प्रतीकको रूपमा लिएका छन्। उनले भनेका छन्, “तीन वर्षको रगत पसिनाबाट जन्मिएको ‘बलिदान’ अब केवल सिनेमा होइन, यो न्यायको विस्फोट हो।”

‘बलिदान’ ले नेपाली सिनेमा इतिहासमा एउटा ‘साहसी कदम’ को रूपमा आफ्नो पहिचान बनाउने अपेक्षा गरिएको छ। यसमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी लगायतका कलाकारको सशक्त अभिनय रहेको छ।