Sur Cinema

तीन सातामै सकियो ‘श्रीमान् श्रीमती’को छायांकन

काठमाडौं : निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको सिनेमा ‘श्रीमान् श्रीमती’को छायांकन तीन सातामै सकिएको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको सिनेमाको गीतको छायांकनसमेत पूरा भएको निर्माण टिमले जनाएको छ ।
खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा रहेको सिनेमा पारिवारिक कथामा आधारित छ । सिनेमामा लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय छ ।

पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा बनेको सिनेमाका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन् । सिनेमाको कथा तथा लेखन निर्देशक खनालको रहेको छ भने पटकथा तथा संवाद खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका हुन् । करण श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाका छायाकार कृष्ण बा. थापा हुन् ।

निर्देशक खनालले ‘श्रीमान् श्रीमती’ आम नेपाली परिवारमा दिनहुँ घट्ने घटनाक्रम र श्रीमान्–श्रीमतीबीचको सम्बन्धका उतारचढावमा आधारित रहेको बताएका छन् । दर्शकको रुचिलाई ध्यान दिए पनि बजारमुखी नभई इमानदार भएर सिनेम्क निर्माण गरिएको उनको भनाइ छ । सिनेमाको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।