काठमाडौं: अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्न लागेको सिनेमा ‘पार्वती’मा अनुबन्धित भएकी छिन्। बुधवार नीता र दीपाश्रीबीच औपचारिक सम्झौता भएको हो। यसअघि उनीहरूबीच मौखिक सहमति भइसकेको थियो।
‘दीदी मेरो प्रोजेक्टमा जोडिनु मेरो लागि ठूलो कुरा हो,’ दीपाश्रीलाई सिनेमामा अनुबन्ध गरेपछि नीताले भनिन्। १२ वर्षअघि ‘छ एकान छ’मा सँगै काम गरेपछि नीता र दीपाश्रीले अहिले ‘पार्वती’मार्फत पुनः सहकार्य गर्दैछन्।
आगामी असोज महिनादेखि छायांकन सुरु हुने ‘पार्वती’को प्रदर्शन मिति पनि घोषणा भइसकेको छ।
माघ १ गतेबाट प्रदर्शनमा आउने यो सिनेमाका दुई पोस्टर यसअघि नै सार्वजनिक भइसकेका छन्। नीता र दीपाश्रीबाहेक अन्य कलाकारको नाम भने निर्माण टिमले खुलाएको छैन। निर्माण टिमले क्रमशः कलाकार र प्राविधिकबारे जानकारी दिने बताएको छ।
‘पार्वती’को कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवादको जिम्मा शिवम् अधिकारीले लिएका छन्। सिनेमाको छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। सिनेमामा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले लगानी गरेका छन्।















