Sur Cinema

जब हरिवंशले अचानक ‘मेरो डान्स युनिभर्स’मा खुट्टाको जुत्ता खोले..!

काठमाडौं: वरिष्ठ हाँस्यकलाकार तथा अभिनेता हरिवंश आचार्य यतिबेला आफ्नो नयाँ सिनेमा ‘हरिबहादुरको जुत्ता’को प्रमोशनमा व्यस्त छन्।

यसै क्रममा उनी हालै चर्चित टेलिभिजन रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को सेटमा पुगेका थिए, जहाँ उनले आफ्नो अनौठो र हास्यपूर्ण हर्कत गरेर सबैलाई चकित पारे।

शोका निर्णायक र दर्शकहरूका बीचमा पुगेका हरिवंशले अचानक आफ्नो खुट्टाबाट जुत्ता खोलेर हातमा लिए। उनको यो अप्रत्याशित क्रियाकलापले सुरुमा सबैलाई अलमलमा पारे पनि जुत्तासँग सम्बन्धित रमाइलो कुरा सुनाएपछि माहोल हाँसो र रमाइलोले भरिएको थियो।

उनको यस्तो हर्कतले शो’का निर्णायकहरू प्रियंका कार्की, दिलीप रायमाझी लगायत सबैलाई निकै हँसाएको थियो। माहोल नै रमाइलो बनेको थियो। सिनेमा आगामी दशैंको फुलपातीको दिन (असोज १३) गतेदेखि प्रदर्शनमा आउँदैछ।

कमेडी तथा सोसल ड्रामा जनराको यो सिनेमाको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् । सिनेमामा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्ण बहादुर थापाको छायांकन रहेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् ।

वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।