काठमाडौं : साउन २३ गते शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘सिटामोल’ ले दर्शकहरूको मन जितेको छ। शुक्रबार र शनिबार दुवै दिन सिनेमा हलमा दर्शकको राम्रो साथ पाएपछि निर्माण टिम उत्साहित भएको छ।
‘सिटामोल’ को कथावस्तुले दर्शकलाई भावनात्मक रूपमा छोएको र अन्त्यमा रुवाएको धेरैले प्रतिक्रिया दिएका छन्। सिनेमाले पूर्वमाओवादी कमान्डरलाई केन्द्रमा राखेर जनयुद्धका घाइते योद्धाहरू र कर्णाली प्रदेशका जनताले भोगेको दुःखलाई प्रस्तुत गरेको छ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका पदाधिकारीहरूले पनि सिनेमा हेरेपछि यसले कर्णालीको अवस्थालाई जस्ताको तस्तै देखाएको र राज्यले त्यहाँ ध्यान दिनुपर्ने सन्देश दिएको बताएका छन्।
सिनेमामा अभिनय गरेका सौगात मल्ल र बेनिशा हमाल लगायतका कलाकारहरूले दर्शकहरूसँग साक्षात्कार गरेका थिए। दर्शकको सकारात्मक प्रतिक्रिया सुनेर सौगात मल्लले आफ्नो मिहेनतले सार्थकता पाएको बताए।
बेनिशा हमालले पनि दुईवटा सिनेमा एकसाथ प्रदर्शनमा आउँदा चिन्तित भए पनि दुवैलाई राम्रो प्रतिक्रिया मिलेपछि खुसी व्यक्त गरिन्।
राज बहादुर सानेको निर्देशनमा बनेको यो सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
यसै सिनेमाबाट श्री कृष्ण र जानुकाले नेपाली रजतपटमा डेब्यु गरेका हुन्। सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।















