Sur Cinema

टंकको सिनेमामा मदन कृष्ण देखि प्रभात पाल सम्म

काठमाडौं : संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘मन बिनाको धन–२’ले अनुभवी कलाकारहरूको सशक्त टोली तयार पारेको छ। निर्माण पक्षले मंगलबार चर्चित मोडल तथा नायक प्रभात पाल ठकुरीलाई औपचारिक रूपमा सिनेमामा अनुबन्ध गरिएको जनाएको छ।

दर्जनौ सफल म्युजिक भिडियोमा काम गरेका प्रभात सफल सिनेमाको प्रतीक्षामा छन् । अब्बल अभिनयले प्रसंशा कमाउदै आएका प्रभातलाई अब एक ब्यवसायिक सफल सिनेमाको खाचो छ । र प्रभातको सफल करियरका लागि ‘मन बिनाको धन २’ले सेतुको काम गर्न सक्छ ।

सिनेमाका लागि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, किरण केसी, प्रकाश घिमिरे, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मा, राम ठाकुर र शंकर श्रेष्ठलगायत अनुभवी कलाकारहरूसँग पनि निर्माण पक्षले सम्झौता गरिसकेको छ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीत–संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ। सिनेमाकी निर्माता विष्णुमाया मैनाली बुढाथोकी हुन्।

सिनेमाको प्राविधिक पक्षतर्फ नरेन्द्र मैनालीले छायांकन गर्नेछन्। कोरियोग्राफीको जिम्मेवारी कविराज गहतराज, रामजी लामिछाने र गम्भीर बिष्टले सम्हाल्नेछन् भने द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नेछन्।