काठमाडौं : अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमा‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ। कुमार गजुरेलको निर्देशनमा बनेको सिनेमा आगामी मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभर प्रदर्शनमा आउने भएको हो।
सार्वजनिक पोस्टरमा निरुतालाई काखमा दुधे बालक बोकेको गम्भीर र रहस्यमय अवतारमा प्रस्तुत गरिएको छ। उनको खुट्टाको पैतालाबाट रगत चुहिरहेको दृश्यले सिनेमाप्रति दर्शकको कौतूहल बढाएको छ।
सिनेमामा लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई एकसाथ देख्न पाइनेछ। म्याग्दीको दुर्गम क्षेत्र गुर्जामा सम्पूर्ण छायांकन गरिएको ‘सारथी’मा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायत कलाकारको अभिनय छ।
किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। संकल्प भुजेलको छायांकन रहेको सिनेमामा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ। वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।
निरुताको फरक अवतार र रहस्यमय कथावस्तुसहितको ‘सारथी’ले दर्शकमाझ कस्तो प्रभाव पार्छ, त्यो भने प्रदर्शनपछि नै थाहा हुनेछ।


















