काठमाडौं : गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन्।
प्रेमिल भाव बोकेको गीतको भिडियोमा एकतर्फी प्रेमको कथा प्रस्तुत गरिएको छ। खुसीप्रति आकर्षित गौरव प्रेममा परेपछि आफूलाई परिवर्तन गर्छन्। प्रेम पाउने आशामा उनको पर्खाइ र त्यसको परिणामलाई निर्माता तथा कथाकार शान बस्न्यातले सरल ढङ्गले प्रस्तुत गरेका छन्।
अस्मिता रुचालको शब्द रहेको गीतमा प्रकाश सिलवालकै स्वर र सङ्गीत छ। प्रेमले मानिसमा ल्याउने प्रभाव र परिवर्तनलाई गीतमार्फत प्रस्तुत गरिएको प्रकाशले बताए।
घामपानी पिक्चर्स प्रोडक्सनको निर्माणमा तयार भिडियोमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा ‘चरी’, युवक लामा ‘घाइते’, कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने र सुजाता तिमल्सिनालगायतको अभिनय छ।


















