काठमाडौं :सिनेमा ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित तेस्रो ‘इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’को मञ्चबाट सिक्वेलको औपचारिक घोषणा गरिएको हो। सिनेमाको नाम ‘कलेजी–ऊनको स्वीटर’ राखिएको छ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बन्ने सिनेमाको छायांकन आगामी दशैँपछि सुरु हुने र सन् २०२७ मा विश्वव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। सिक्वेलमा अघिल्लो सिनेमाकै लोकप्रिय जोडी विपिन कार्की र मिरुना मगर दोहोरिनेछन्। एलेक्स पारस र परीक्षा लिम्बूसँगै भारतका चर्चित अभिनेता तथा लेखक पियूष मिश्रा पनि प्रमुख भूमिकामा देखिने भएका छन्।
निर्देशक चौहानका अनुसार दर्शकको निरन्तर माग र अधुरो प्रेमकथालाई थप अगाडि बढाउन सिक्वेल निर्माण गर्न लागिएको हो। सिनेमामा धरणीधर र फूलको अधुरो प्रेमकथा सिक्किमबाट अघि बढ्नेछ।
अभिषेक सुवेदीको सहलेखन रहेको सिनेमामा नेपाल र भारतका प्राविधिक टोलीको समेत सहभागिता रहनेछ। अन्य कलाकार तथा प्राविधिक टोलीको विवरण छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
यसअघि ‘ऊनको स्वीटर’ले नेपालमा करिब १२ करोड रुपैयाँको व्यापार गर्दै २०८२ सालको सुपरहिट सिनेमा बनेको थियो। भारतमा समेत सफल भएको यस सिनेमाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जित्दै हालसम्म १९ वटा अवार्ड प्राप्त गरिसकेको छ।


















