Sur Cinema

शिव–समीक्षा र मुक्ति एन्ड रिभाइभलको अमेरिका टुर

काठमाडौं : चर्चित गायक शिव परियार, गायिका समीक्षा अधिकारी र नेपाली ब्लुज ब्यान्ड मुक्ति एन्ड रिभाइभल अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रस्तुति लिएर पुग्ने भएका छन्। थ्रीई इन्टरटेनमेन्ट, यूएसएको आयोजनामा दुई छुट्टाछुट्टै कार्यक्रम हुनेछन्।

‘दशैं–तिहार धमाका यूएसए टुर २०२६’ अन्तर्गत शिव र समीक्षाले करिब २० शो गर्नेछन्। सेप्टेम्बर २५ मा अस्टिनबाट सुरु हुने टुर डलास, कोलम्बस, सिकागो, चार्लोट, न्युयोर्कलगायत सहर हुँदै नोभेम्बर ७ मा फ्लोरिडासम्म पुग्नेछ। थप केही मिति पनि तय हुन सक्ने आयोजकले जनाएको छ।

त्यस्तै, मुक्ति एन्ड रिभाइभलले आफ्नो ३० वर्षे नेपाल ब्लुज यात्राको उत्सवस्वरूप ‘म्युजिकल रिभाइभल–साधना भण्डारी ३०औँ वार्षिकोत्सव टुर’ गर्नेछ। ‘द लिगेसी, द ब्लुज, द रिभाइभल’ नारासहितको टुर सेप्टेम्बर १२ मा डलासबाट सुरु भई ह्युस्टन, सेन्ट लुइस, न्यु ह्याम्पसायर, चार्लोट र न्युयोर्कलगायत सहरमा पुग्नेछ।

नेपाली चाडपर्व, कला र संस्कृतिलाई अमेरिकास्थित नेपाली समुदायमाझ पुर्‍याउने उद्देश्यले आयोजना गरिएका यी कार्यक्रमबाट उठेको केही रकम गरिब तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्तिमा प्रयोग गरिने आयोजकले जनाएको छ। कार्यक्रमका संयोजक प्रयास भुसाल हुन्।