Sur Cinema

प्रकाश सपूतको तीज गीत ‘नाईं भनेसी नाईं’: महिला सशक्तीकरण र न्यायको दमदार कथा

काठमाडौं: नेपाली नारीहरूको महान चाड तीज नजिकिँदै गर्दा लोकप्रिय गायक प्रकाश सपूतले नयाँ तीज गीत ‘बदला बरिलै २ : नाईं भनेसी नाईं’ सार्वजनिक गरेका छन्। सधैंझैं यसपटक पनि प्रकाशले गीतलाई मनोरञ्जनको साधन मात्र नबनाई सामाजिक सन्देशसँग जोडेका छन्, जसले गर्दा यो गीतले चर्चा बटुलिरहेको छ।

विशेषगरी यो गीतमा उनले विशुद्ध कला प्रस्तुत गरेका छन्। उनका अघिल्ला भिडियोहरूमा देखिने गरेको विज्ञापनको बाहुल्यतालाई यसपटक निकै कम गरिएको छ। यसले गर्दा दर्शकको ध्यान कथावस्तुमै केन्द्रित भएको छ।

‘बदला बरिलै २’ मार्फत प्रकाशले महिलामाथि हुने अन्याय र त्यसपछि उनीहरूको सशक्तीकरणको आवाजलाई सशक्त ढंगले उठाएका छन्, र यसमा उनी न्याय दिन सफल देखिएका छन्।

गीतको मुख्य आकर्षण भनेको अभिनेत्री रेखा थापाको दमदार अभिनय हो। पछिल्लो समय पर्दामा कम देखिने रेखालाई यो गीतले दर्शकमाझ पुन: प्रस्तुत गरेको छ। उनको शक्तिशाली उपस्थिति र अभिनयले गीतको कथालाई थप उचाइ दिएको छ। धेरै दर्शकहरूका लागि यो गीत रेखा थापाको सिनेमाकै छनक दिने खालको बनेको छ, जुन उनको व्यक्तित्वसँग सुहाउँदो पनि छ।

गीतमा स्वर समीक्षा अधिकारी र एलिना चौहानको रहेको छ। उनीहरूको गायकीले गीतको भावलाई अझै जीवन्त बनाएको छ। पुरुषको कारण व्यक्तिगत जीवनमा पीडा भोगेका भन्ने चर्चामा आए पनि, उनीहरूले आफ्नो गायन कर्मलाई व्यावसायिक रूपमा निर्वाह गरेका छन्।

भिडियोमा रेखा थापाका साथै सिम्रन खड्का र सन्जोग बराईलीको अभिनय पनि उत्तिकै अब्बल देखिन्छ। स्वयं प्रकाश सपूत पनि भिडियोमा देखिएका छन्। यस गीतको शब्द, संगीत र भिडियो निर्देशन सबै प्रकाशकै रहेको छ। यद्यपि युट्युबमा भ्युजको रफ्तार सोचेअनुरूप नभए पनि सामाजिक सञ्जाल र दर्शकमाझ भने यसले राम्रो चर्चा पाइरहेको छ।