काठमाडौं: आगामी भदौ २७ गते प्रदर्शनमा आउने सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ को ‘माली’ बोलको गीत सार्वजनिक भएको छ। निर्माण पक्षले दाजु-बहिनीको सम्बन्धलाई केन्द्रमा राखेर तयार पारेको यो गीत रक्षाबन्धनलाई मध्यनजर गर्दै आज रिलिज गरिएको हो।
गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ। विषम आचार्यको संगीत संयोजन रहेको यस गीतले दाजु र बहिनीबीचको पवित्र प्रेम, निश्चल सम्बन्ध र दाजुको जिम्मेवारीको कथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ। बहिनीको खुशीमै आफ्नो संसार देख्ने र उनको रेखदेख गर्ने दाजुको भूमिकालाई ‘माली’ शब्दले अर्थ्याएको छ, जसले दर्शकको मन छुने अपेक्षा गरिएको छ। प्रशान्त शिवाकोटीले स्वर दिएका ‘पूर्ण बहादुरको सारङ्गी’ सिनेमाका गीतहरूमा पनि निकै लोकप्रिय छन्।
गीत सार्वजनिकसँगै निर्माण टिमले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ। जसअनुसार, दाजुभाइ र दिदीबहिनीले रक्षाबन्धनमा राखी बाँधेको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गर्नुपर्नेछ। उत्कृष्ट तीन भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो सिनेमा सुशान्त गौतमको डेब्यु निर्देशन हो। सिनेमामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलाको मुख्य भूमिका रहेको छ।
विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेको ‘अभिमन्यु : च्याप्टर–१’ को हिन्दी भर्सन पनि असोज ६ गते (सेप्टेम्बर २२) मा विश्वभर प्रदर्शन हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्। मुकेश खनालको लेखन र मदन थापाको क्रिएटिभ निर्देशन रहेको यस सिनेमामा रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता छन्। विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्।















