काठमाडौं : सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’को गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । ‘म फूल हुँ कि काँडा’ बोलको गीतको जति तारिफ भइरहेको छ, त्यो भन्दा धेरै यो गीतको भिडियोमा नृत्य गर्ने अभिनेता नाजिर हुसेनको प्रशंसा भइरहेको छ ।
उनको अभिनय कला र क्षमताको चौतर्फी प्रशंसा भइरहेको छ । उनलाई काम देखाउने सिनेमा आवश्यक रहेको प्रतिक्रिया युट्युबमा आइरहेको छ । नाजिरलाई उनको क्षमता सबैसामु पहिचान हुनेगरी पूर्ण बहादुरको सारङ्गीजस्तै एउटा सिनेमा आवश्यक रहेको धेरैले प्रतिक्रिया दिइरहेका छन् ।
नाजिरले यसमा तेस्रोलिंगी महिलाको भूमिका निर्वाह गरेका छन् । तर, उनी नाजिर भएको फिल नै नहुने बताएका छन् । के तिमी साँच्चै नाजिर नै हौ भनेर प्रश्न पनि उनलाई गीतमा उनको पहिरन हेरेर गरेका छन् । वाउ ह्वाट अफ पफर्मेन्स भन्ने प्रतिक्रिया उनले पाइरहेका छन् ।
लेखु सहयात्रीको शब्दरचना रहेको गीत ‘म फूल हुँ कि काँडा’मा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीकै रहेको छ । सिनेमा भदौ १३ गते रिलिज हुँदैछ । समुन्द्र भट्टको निर्देशन रहेको सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।
‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । सिनेमामा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । सिनेमाको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।
सिनेमामा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड सिनेमा ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् । यो सिनेमा नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो ।
सिनेमामा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । सिनेमाको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सिनेमाका सहयोगी निर्माता हुन् ।आलोक शुक्लाले खिचेको सिनेमामा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो सिनेमा अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।















