Sur Cinema

सकारात्मक प्रतिक्रिया सहित ट्रेन्डिङको शिर्ष स्थान पछ्याउँदै ‘जनै हराएको मान्छे’को टिजर

काठमाडौं : भाद्र ६ गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘जनै हराएको मान्छे’को टिजर यतिबेला युट्युब ट्रेन्डिङको सूचीमा पर्न सफल भएको छ । गत मंगलबार सार्वजनिक भएको टिजरले छोटो समयमै दर्शकमाझ लोकप्रियता हासिल गर्दै चर्चा बटुलिरहेको छ ।

युट्युब कमेन्टहरूमा दर्शकहरूले टिजरको प्रशंसा गर्दै विजय बरालको दमदार अभिनयको खुलेर तारिफ गरेका छन् । साथै, धेरै दर्शकहरूले सिनेमामा उठान गरिएको कोरियाको कथालाई समसामयिक र मन छुने विषयका रूपमा लिएको देखिन्छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको सिनेमामा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।सिनेमाको असोसियट निर्देशकमा मनिष राउत छन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । सिनेमामा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको सिनेमामा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन् । सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

सिनेमामा शाहिल खानको टिजर-ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् । सिनेमाको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।