काठमाडौं : २०८२ लागे सङ्गै यतिबेला वर्षालाई भ्याईनभाई छ । उनी अहिले एकपछि अर्को सिनेमामा अनुबन्धित समेत भैरहेकी छन् । सफलको एकपछि अर्को खुड्कीलोमा यात्रारत वर्षाको मुख्य भूमिका रहेको आगामी भदौ ६ गते रिलिज हुने सिनेमा ‘माग्ने राजा’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को जोडीका रुपमा दर्शकमाझ देखिँदैछिन् ।
केदार घिमिरे सङ्ग ‘छक्का पन्जा ५’मा सहकार्य गरिसकेकाले पनि वर्षालाई ‘माग्ने राजा’मा काम गर्न सहज भएको उनी बताउछिन् । पहिलोपटक केदार ‘माग्ने राजा’मा प्रमुख भूमिकामा रहेकाले आफू उत्साहित रहेको उनले बताएकी हुन् ।
सधैं गरिरहेको क्यारेक्टर भन्दा ‘माग्ने राजा’मा आफू फरक देखिएको वर्षाको दाबी छ । वर्षाले निर्माण पक्षको योजना अनुसार नै सिनेमा बनेकाले सिनेमा सफल हुनेमा आफू ढुक्क रहेको समेत बताइन् । ‘निर्माता र निर्देशकको योजना अनुसार नै काम भएको छ । टिम र स्क्रिप्ट राम्रो भएर पनि हुँदैन, त्यसलाई बजारमा कसरी प्रस्तुत गर्ने भन्ने पनि हुन्छ । उहाँहरुको काम गराई देखेपछि काम गर्न पनि सजिलो भयो,’ उनी भन्छिन् ।
सिनेमाको कन्टेन्टले दर्शकले रिलेट गर्न सक्ने वर्षाको भनाई छ । ‘सिनेमाले अहिलेको वर्तमान अवस्थालाई चित्रण गरेको छ । हाम्रो समाजले निम्न, उपल्लो वर्ग भनेर सिकाएको छ । सिनेमाले सबै वर्गलाई प्रतिनिधित्व गर्छ । अहिलेको राजनीतिक अवस्थालाई पनि यसले केही चित्रण गरेको छ । सिनेमाले राजनीति, साथी, परिवार र प्रेमिकाको कुरालाई बलियो गरी प्रस्तत गरेको छ,’ वर्षाको भनाई छ ।
‘मैले अहिलेसम्म काम गरेका सिनेमामध्ये अलिकित बढी एप्रिसियट पाएको ‘छक्का पन्जा ५’ बाटै हो । किनभने त्यो लेभलको सपोर्ट अहिलेसम्म मैले पाएको थिइनँ । राम्रो काम गर्नु हुँदो रहेछ है भनेर रेस्पोन्स आएको ‘छक्का पन्जा ५’ हो । ‘माग्ने राजा’मा पक्कै पनि त्यो भन्दा मैले केही फरक गरेको छु जस्तो लाग्छ,’ उनी भन्छिन् । सुरुमा सिनेमाको नाम सुन्दा रोचक लागेको थियो । माग्ने भन्नासाथ दिमागमा धेरै कुरा आउने भएकाले ती आएका कुरालाई एउटै चरित्रले पोट्रे गर्ने उनको दाबी छ ।















