Sur Cinema

वर्षालाई सम्झिदा माग्नेको मन जिरिङ्ग भएपछि !

काठमाडौं : ऋषि लामिछानेको निर्देशनमा तयार भएको सिनेमा ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक भएको छ । सिनेमाको डान्सिङ नम्बरको गीत मंगलबार ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । गीतमा दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने देखिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको सार्वजनिक भिडियोमा सिनेमाको मुख्य कलाकार केदार घिमिरे र वर्षा शिवाकोटी फिचर्ड छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा केदार र वर्षा सहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।

आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा नरेन्द्र मैनालीको छायांकन, मित्र डी गुरुङले सम्पादन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा तथा बाबुल गिरीको संगीत रहेको छ । मधुसुदन शर्माले निर्माण गरेको सिनेमाको यम प्रसाद वली प्रोडक्सन म्यानेजर हुन् ।