काठमाडौं : यतिबेला निर्देशक दिनेश राउत नयाँ सिनेमाको तयारीमा जुटेका छन् । उनी निर्देशित पछिल्लो सिनेमा ‘महाभोज’ व्यवसायिक हिसाबले बक्स अफिसमा असफल ठहरियो। अब भने उनी लभस्टोरी जनरामा नयाँ सिनेमा निर्माण गर्ने तयारीमा रहेको विशेष स्रोतले बताएको छ।
आज मात्रै दिनेशले अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीसँग विशेष छलफल गरेको बुझिएको छ। जुन कुरा पोस्टर तथा पब्लिसिटी डिजाइनर रोयल भीमसेनले सार्वजनिक गरेको तस्वीरबाटै स्पष्ट हुन्छ। रोयलले सार्वजनिक गरेको तस्वीरमा निर्देशक राउतसँगै आर्यन र केकीलाई देख्न सकिन्छ।
उनले तस्वीरसँगै एउटा क्याप्सन पनि लेखेका छन्। ‘अब के होला ?’, उनको क्याप्सनमा लेखिएको छ, ‘के हामी यो त्रिकोणीय जोडीबाट एउटा सुन्दर प्रेम कहानीको आशा गर्न सक्छौं ?
१३ वर्षको रुपान्तरण !’ आजभन्दा १३ वर्ष अघि दिनेश,आर्यन र केकीले सिनेमा ‘आईएम सरी’मा संयुक्त सहकार्य गरेका थिए। त्यसपछि यि तीनैजनाको सहकार्य जुटेको थिएन। तर अब भने नयाँ सिनेमामा सँगै सहकार्य हुन सक्ने अनुमान गरिएको छ।
लभस्टोरी जनराका सिनेमा बनाउन माहिर दिनेशले अब नयाँ सिनेमा कस्तो बनाउने हुन्, त्यो त प्रतीक्षाकै विषय रह्यो।















