Sur Cinema

‘मिरमिरे’को वर्कसप सुरु

काठमाडौं : सिनेमा ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । आइतबारबाट सिनेमाका मुख्य कलाकारसहित वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले जानकारी दिएका हुन् ।

“सुटिङमा सहज होस् । कथा र आफ्नो क्यारेक्टर तथा कलाकारबीच सहज होस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ,” निर्देशक शेर्पाले भने, “यसले हामीलाई हाम्रो सिनेमा छिटो छायांकन सक्न थप सहयोग गर्नेछ ।”

कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप भइरहेको सिनेमा ‘मिरमिरे’ यही शुक्रबारबाट छायांकन हुनेछ । सिनेमाको अधिकांश छायांकन काभ्रेमा हुनेछ । यही सिनेमा मार्फत प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दै छन् । यमले दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनको पहिलो निर्देशन ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए ।

यार्सा फिल्म्सको प्रस्तुति रहने यस सिनेमामा दयाहाङ, प्रकाशसँगै अभिनेत्री सिर्जना निङलेखु र अभिनेता माओत्से गुरुङको पनि अभिनय रहने छ । सिनेमाको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो सिनेमाको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका सिने वितरक रोहित कट्टेल रहेका छन् ।

सिनेमा २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । सिनेमालाई आरआर फिल्मसले वितरण गर्नेछ ।