काठमाडौं : साउनको २३ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ आज सार्वजनिक भएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शरद हुमागाँई र विशाखा शाहीको स्वरमा समावेश सिनेमाको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ ।
सार्वजनिक गीतको भिडियोमा नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा पल र नीतिको प्रेम भाव छल्किएको छ । चुम्बन जंग शाही सिनेमाका निर्माता हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको सिनेमालाई फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिएको हो ।
सिनेमामा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमामा दिपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ । यो गीतलाई भने रामजीले कोरियोग्राफी गरेका हुन् ।
रिच इन्टरटेन्मेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेन्मेन्टले यो सिनेमाको वितरण गर्नेछन् । समिर मियाको भीएफएक्स रहेको सिनेमामा सत्यम रानाको सीजीआई, लक्ष्मण राज पौडेलको प्रोडक्सन डिजाइन छ । रोशन जंग शाही सिनेमाका लाइन प्रोड्यूसर हुन् ।















