काठमाडौं : नेपालका प्रतिष्ठित साहित्यकार तथा मदन पुरस्कार विजेता अमर न्यौपानेले हाल प्रदर्शनरत सिनेमा ‘महाभोज’ हेरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । उनले सिनेमाको विषयवस्तु, कथावस्तुको प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।
‘महाभोज’ लाई ‘यो समयको कथा बोकेको सिनेमाको संज्ञा समेत दिएका छन् । उनले हाल समाजमा व्याप्त सहकारी ठगीको मुद्दालाई सिनेमाले सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गरेका छन् । न्यौपानेका अनुसार, “यति बेला धेरै सहकारी बेकारी बनेका छन् । त्यहाँ धेरैको पसिनाको मूल्य हराएको छ । पीडितहरू किसान, मजदुर र श्रमजीवी वर्ग छन् भने पीडकहरू हुनेखानेहरू छन् ।”
उनले सिनेमामा ग्रामीण भेगका विभिन्न मानिसका कथा-व्यथालाई सहकारी घोटालासँग जोडेर प्रस्तुत गरिएको र कथा सलल बगेको बताएका छन् । न्यौपानेले सिनेमाको अभिनय र निर्देशकीय पक्ष निकै सबल रहेको टिप्पणी गर्दै सिनेमा हेरेपछि देशमा कानुनको कमजोरी र बल प्रयोग गरेरै न्याय खोज्नुपर्ने परिस्थितिको चित्रणप्रति दुःख व्यक्त गरेका छन् । उनको भनाइमा, “यो सिनेमाको कमजोरी होइन, नियम-कानुनको कमजोरी हो । न्याय कानुनले दिन सक्नुपर्थ्यो तर सिनेमाले दिनुपर्यो ।” उनले सिनेमा धेरैलाई आफ्नै कथा लाग्ने खालको रहेको पनि जनाएका छन् ।
नेपाली साहित्यका एक स्थापित नाम अमर न्यौपानेले आफ्नो उपन्यास ‘सेतो धरती’का लागि २०६८ सालको मदन पुरस्कार प्राप्त गरेका थिए । उनका कृतिहरूमा गहिरो सामाजिक चेतना र मानवीय संवेदनशीलता पाइन्छ ।
दिनेश राउतको निर्देशन, विकास सुवेदीको लेखन र हिमाल कडरियाको निर्माण रहेको सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला, विनोद न्यौपाने लगायतको प्रमुख अभिनय रहेको छ ।















