काठमाडौं : आगामी शुक्रबारदेखि प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’ को बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा आयोजित प्रिमियर सिनेमा हेरेपछि आगन्तुक सेलिब्रेटी तथा सन्चारकर्मीहरुले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
निम्तालु सिनेकर्मी र सञ्चारकर्मीको ‘मनोरञ्जनको प्याकेज’ भन्ने प्रतिक्रिया पाएपछि अभिनेत्री गरिमा शर्माले आफूमा थप उत्साह बढेको बताइन । ‘प्रिमियरमा सबै सिनेमा बुझेका मान्छे आउनु भएको छ । यहाँ हामीले रमाइलो सिनेमा बनेको, होल्ड भएको, कहिँ कतै बोर नलागेको प्रतिकिया पाएका छौँ । यो हाम्रो टिमका लागि उत्साहजनक प्रतिक्रिया हो । हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शोबाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छु’, उनले भनिन् ।
पहिलो पटक मुख्य भूमिकामा रहेकी गरिमाले उत्साह, डरको समिश्रण भएकाले अहिलेको भावनालाई शब्दमा व्यक्त गर्न नसकिने बताइन । ‘पहिलोपटक सिनेमाको कथा नै बोकेको पात्रलाई निर्वाह गरेकी छु । सिनेमा मैले निर्वाह गरेको सम्झना पात्रकै वरिपरी घुम्छ’, उनले भनिन् ।
अभिनेता लोकेन्द्र लेखकले निर्माण समूह, कलाकार र कथा राम्रो भएकाले सिनेमा राम्रो बनेको बताए । उनले सिनेमा पूर्ण पारिवारिक र मनोरञ्जनात्मक भएकाले सम्पूर्ण परिवारलाई एकसाथ हलसम्म आउन आग्रह गरे । लामोसमयपछि पर्दामा देखिएका अभिनेता आशिफ शाहले दर्शक भएर हेर्दा सिनेमा इन्जोय गरेको प्रतिक्रिया दिए ।
अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए । ‘हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु । अघिल्ला सिनेमा भन्दा यसमा म केही भिन्न देखिएँ जस्तो लागेको छ । दर्शकले रुचाउनु हुन्छ भन्नेमा आशावादी छु’, उनले भने ।
निर्माता सन्तोष गौतमले आफूले निर्माताको रुपमा सिनेमा निर्माणमा कुनै सम्झौता नगरेको बताए । उनले सिनेमा हेर्न एउटा परिवारका सबै सदस्य एकसाथ हलमा आउन मिल्ने गरी विषयवस्तु समेटेर सिनेमा तयार भएको बताए । उनी दर्शकले सिनेमा रुचाउनेमा विश्वस्त छन् । जेठ २३ गते शुक्रबारदेखि प्रदर्शन हुने सिनेमाको अग्रिम टिकट बुकिङ र खरिद खुला भईसकेको छ । प्रदर्शकले प्रचार समाग्रीको आधारमा यसलाई राम्रो शो दिएका छन् ।
सिमोश सुनुवारको निर्देशन तथा मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।















