Sur Cinema

धरानमा आयोजित ‘ऊनको स्वीटर’ साँझमा गाउँ गाउँबाट ऱ्यालीसहित दर्शकको सहभागिता

काठमाडौं : बिहीबार साँझ धरानमा भव्य साङ्गीतिक कार्यक्रम ‘ऊनको स्वीटर साँझ’ सम्पन्न भएको छ । आगामी शुक्रवार रिलिज हुने सिनेमा ‘ऊनको स्वीटर’ को प्रचारप्रसारको एक महत्त्वपूर्ण प्रयास स्वरूप धरान रङ्गशालामा आयोजित सो कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति रह्यो । सो कार्यक्रमको लागि पाँचथरको फिदिम देखि धरान सम्मको २०० कि.मि. बाटोमा मोटरसाइकल र्‍यालीमार्फत दर्शकहरू आएका थिए  भने अन्य गाउँ गाउँहरूदेखि समेत दर्शकहरू आएका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायत विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । सिनेमाका प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बू, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायक सुजन चापागाईँ, गायिका तथा सङ्गीतकार झुमा लिम्बू, र गीतकार युवराज काफ्लेलाई नगरप्रमुख साम्पाङले स्वागत तथा सम्मान गरे ।सुजन चापागाईँ र उनको ‘द इन्फिनिटी ब्यान्ड’ले “लजाएर एक्लै किन”, “तिमी बिना तिमी हुनु”, “फूलथुङ्गे रानी”, “आँसुको भारी”, “गाला पुक्क”, “तीनपाते”, “मखमली” लगायतका चर्चित गीतहरू प्रस्तुत गरे । गायिका झुमा लिम्बूसँगको “काफ्ले” गीतले दर्शकहरूलाई विशेष रूपमा आकर्षित गर्‍यो ।

निर्देशक चौहानको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ । यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता साङ्गीतिक सिनेमाहरू निर्देशन गरेका चौहानले यस सिनेमाको लेखन पनि गरेका हुन् । सिनेमाको छायाङ्कन पाँचथर र नेपाल-भारत सिमाना फालेलुङमा गरिएको हो ।आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको यस सिनेमामा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायत कलाकारहरूको अभिनय रहेको छ ।

सङ्गीततर्फ, सुजन चापागाईँ र झुमा लिम्बुले सङ्गीत निर्देशन गरेका छन् । यस चलचित्रका “फूल”, “मखमली”, र “काफ्ले” जस्ता गीतहरू तथा हालै सार्वजनिक ट्रेलर सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका छन् ।