Sur Cinema

‘झिल्को’ ट्रेलर : डिजिटल लतले निम्त्याउने सङ्कटबारे संवेदनशील कथामा जोड

काठमाडौं : वैशाख १९ गते रिलिज हुने सिनेमा ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा सिनेमामा रहेको ट्रेलरले प्रस्ट्याएको छ ।

सिनेमाकी प्रमुख कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको पनि उल्लेखनीय अभिनय देख्न सकिन्छ ।

सिनेमाका निर्देशक यादवकुमार भट्टराईका अनुसार, ‘झिल्को’ एक बालिकाको डिजिटल लतको यात्रामार्फत प्रविधिको असावधानीपूर्ण प्रयोगले निम्त्याउने सङ्कटबारे दर्शकलाई सचेत गराउने प्रयास हो ।

मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको सिनेमाको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । सिनेमाको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।

‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । सिनेमा जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।