काठमाडौं : गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘होस्टेल ३’का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार यस सिनेमाले बिहीबार सम्ममा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ ।
‘होस्टेल ३’ सिनेमा निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका यसका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा व्यापारिक आँकडा निकालेको बताए । “हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ । वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,” कँडेलले बताए । उनका अनुसार यस सिनेमाले काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ ।
यस सिनेमालाई काठमाडौंमा गोविन्द शाही नेतृत्वको काफिया फिल्म्स र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले वितरण गरेका हुन् । तीन नयाँ नेपाली सिनेमाहरू रिलिजका बाबजुद पनि हलहरूमा ‘होस्टेल ३’को अधिक मात्रा शो कटौती भएका छैनन् । कतिपय हलहरूमा नयाँ सिनेमाहरूको भन्दा ‘होस्टेल ३’को शो बढी रहेका छन् ।
यसैबीच, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ, जहाँ दर्शकहरूको उपस्थिति व्यापक देखिएको छ ।
युवा पुस्तालाई लक्षित यो सिनेमाले नेपाली सिनेमाका मुख्य दर्शक वर्गलाई आकर्षित गरेको छ । डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस सिनेमामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि सिनेमामा रहेका छन् ।
यस सिनेमामा माधव शर्माले पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन रहेको छ । सिनेमाका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।















