काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्ष, काठमाडौंको सडकमै बस्नुपरेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा बनेको सिनेमा ‘अञ्जिला’को काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्रीहरू केकी अधिकारी र अलिशा राई, पत्रकारहरू प्रकाश सुवेदी, टिकाराम यात्री, डब्बु क्षेत्री, निर्देशकहरू ज्ञानेन्द्र देउजा, नवल नेपाल लगायत सिनेमा टिम, चलचित्रकर्मी, राष्ट्रिय खेलाडीहरू, पत्रकारहरू, र शुभचिन्तकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
ललितपुरस्थित लबिम मलमा रहेको क्युएफएक्स सिनेमाजमा भव्य सजावट र रेड कार्पेटले सजिएको प्रिमियरमा सिनेमाका तर्फबाट अभिनेता दयाहाङ राई, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, सिनेमाकी कथाकी पात्र तथा प्रमुख अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्य व्यस्तताका कारण उपस्थित रहेनन् ।

फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको यो सिनेमाको प्रिमियरपछि एन्जिलाले पाइलैपिच्छे समस्या र कठिनाइलाई पार गर्दै कप्तानसम्मको यात्रा तय गरेको कथा हेर्दा लगभग सबै दर्शकहरू भावुक बने । खेल खेले बिग्रिन्छ भन्ने घर र समाजलाई छिचोल्दै कप्तानसम्मको यात्रा गर्नु एउटा ठुलो युद्ध जितेको भन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा चलचित्रमा उतारेको भन्दै निर्देशक मिलन चाम्सको व्यापक प्रशंसा गरिएको छ । सिनेमा हलबाट निस्किँदै गर्दा प्राय: दर्शकहरू रोइरहेका देखिन्थे भने चलचित्र हेरेर कहिल्यै नरुनेहरूले समेत आफूलाई सम्हाल्न नसकेको बताए ।
आइजिपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनशिप मात्र देखिरहेको तर यो सिनेमाले एन्जिला हुनुको वास्तविकता देखाएको बताए । उनले भने, “हामीले सधैँ एन्जिलाको खेल देख्यौँ, उनको क्याप्टेनशिप देखेका थियौँ तर, एन्जिला हुनुमा उनले कति सङ्घर्ष गरेको रहेछ, कति पसिना र आँसु बगेको रहेछ भन्ने यो सिनेमाले देखायो । एपिएफ क्लबले एन्जिलालाई चिनायौँ, एन्जिलाले देशलाई चिनाइन् । यो सिनेमा नयाँ पिँढीको लागि प्रेरणा हुन्छ ।”
पूर्व कप्तान गणेश थापाले सिनेमा हेर्दा आफू ३-४ पटक रोएको बताए । “एन्जिलाले यति धेरै सङ्घर्ष गरेर आएको रहेछ । एन्जिलालगायत हामीले ती खेलाडीहरूलाई ध्यान दिन सकेनौँ भन्ने कुराको आत्मग्लानि भएको छ,” एन्फाका पूर्व अध्यक्ष समेत रहेका थापाले भने, “हाम्रो पालामा नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा खेल्ने खेलाडीहरूलाई रोजगारीको ग्यारेन्टीको सुरुवात भएको हो । त्यसैको प्रतिफल आज महिला फुटबल खेलाडीको प्रगति भइरहेको छ ।” थापाले पूर्व सशस्त्र प्रहरी उपरीक्षक तथा यस सिनेमाका निर्माता एवम् कलाकार प्रेमकुमार श्रेष्ठको प्रशंसा गर्दै खेल र खेलाडीलाई सधैँ माया गर्ने व्यक्तिको रूपमा व्याख्या गरे ।

पत्रकार प्रकाश सुवेदीले बायोपिकमा सिनेमा बनाउन जति चुनौतीपूर्ण छ, त्यो सिनेमालाई कमर्शियल बनाउन त्यति नै गाह्रो रहेको र ‘अञ्जिला’मा त्यो दुवै रहेको प्रतिक्रिया दिए । “यो सिनेमामा जीवन त छँदैछ, यो सिनेमालाई व्यावसायिक बनाउन निर्देशकले भरपुर मेहनत गर्नुभएको छ । मैले यो भन्दा पहिले भारतीय कलाकार आमिर खानको लगान हेरेको थिएँ । त्यो सिनेमाले मलाई एकाग्र भएर हेर्न बाध्य तुल्याएको थियो र आज अञ्जिला हेर्दा त्यही झझल्को आयो,” सुवेदीले भने ।
पत्रकार राजीव खत्रीले बायोपिक सिनेमामा जसको कथा उसकै अभिनयको दुर्लभ संयोग रहेको, मान्छे मरेपछि विभिन्न उपमा दिएर चर्चा परिचर्चा गर्नुभन्दा उसको सफलताको चरणमा रहेकै बेला सङ्घर्ष गाथालाई आम दर्शकमा पुर्याउने दुर्लभ प्रयास रहेको र खेलकुदको विषयमा यो स्तरको नेपाली सिनेमा बन्नु दुर्लभ काम रहेको प्रतिक्रिया दिए ।
सिनेमा हेरेपश्चात् भावुक हुँदै हलबाट निस्किएकी अभिनेत्री केकी अधिकारीले यो सिनेमाले आफ्नो मन छेडेर गएको जनाइन् । “हाम्रो समाजमा महिलाहरू जुनसुकै क्षेत्रमा छन् भने पनि सङ्घर्षपूर्ण यात्रा पार गरेर आएको हुन्छ । त्यसमाथि पनि महिलाले खेलकुदमा यो किसिमको एउटा सफलता पाउनुको पछाडिको सङ्घर्ष के कस्तो थियो भन्ने विषय सिनेमा मार्फत आएको छ । सिनेमा एकदमै सशक्त माध्यम हो । एन्जिलाको सङ्घर्षको कथा नपढेको नसुनेको होइन तर, सिनेमा मार्फत आउँदा यसरी मन छेडेर गएको छ की निर्देशकले सुन्दर रूपमा एन्जिलाको वास्तविक जीवनलाई सामाजिक मूल्यमान्यता अनुसार पर्दामा उतार्नुभएको छ,” अधिकारीले प्रतिक्रिया दिइन् ।
सिनेमा निर्देशक नवल नेपालले छोराछोरीहरूले आफ्ना मातापितालाई सम्बोधन गर्ने सिनेमा रहेको प्रतिक्रिया दिए । अर्का निर्देशक ज्ञानेन्द्र देउजाले नेपालमा नेपाली खेलाडीहरूले यति धेरै दुख गर्दा पनि राज्यको चेतना र लगानी किन छैन ? भन्दै प्रश्न उठाए । उनले एन्जिलाको कथासँगै राज्यको दृष्टिकोणले पनि भावुक बनाएको बताए । अभिनेत्री अलिशा राईले यो सिनेमाले जीवन जिउन पनि सिकाउने बताइन् । अभिनेता प्रशान्त ताम्राकारले गाउँ ठाउँका सबै नेपाली चेलीहरूको कथा पनि एन्जिलाको जस्तै सङ्घर्षशील रहेको बताए । “म धेरै पटक भक्कानिएँ । एन्जिलाले गरेका ती सङ्घर्षहरू हेर्दा निकै गाह्रो महसुस भयो । एन्जिलाले आफैले अभिनय गरेको कारणले पनि होला त्यो अभिनय जस्तो नभएर वास्तविक नै देखिएको छ,” ताम्राकारले भने । सिनेमा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली दर्शकले चाहेको जस्तो सिनेमा रहेको बताए ।
निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक् भएको प्रतिक्रिया दिँदै अब दर्शकको पालो रहेको जनाए । “मैले एन्जिलालाई ‘तिमीले अभिनय नगर, जीवनमा जे भोगेको छौ त्यति नै देखाऊ’ भनेको थिएँ । म आफैले पनि हरेक पटक सिनेमा हेर्दा भावुक हुने गरेको छु । धेरै ठाउँमा प्रिमियर भयो, सबै ठाउँमा प्रशंसा भएको छ । अब दर्शकको पालो आएको छ,” चाम्सले भने । चाम्सको यो तेस्रो बायोपिक सिनेमा हो । उनले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए ।
निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले राम्रो सोच लिएर काम गरेपछि सबैले साथ दिनुहुने रहेछ भन्ने प्रमाणित भएको बताए । निर्देशक चाम्सको प्रशंसा गर्दै उनले भने, “मैले योजना सुनाएपछि उहाँले ‘म तपाईँलाई सहयोग गर्छु’ भन्नुभयो । यो सिनेमा बनाएर एन्जिलाको घर बनाउने कुरा सुनेपछि दयाहाङ राई लगायतका कलाकारहरूले पनि सबैले अभिनयमा मात्र होइन, अन्य सहयोग पनि गर्ने वचन दिनुभयो,” श्रेष्ठले भने ।
यसअघि यस सिनेमाको हङकङ, कोरिया र बेलायत तथा नेपालको धरानमा समेत प्रिमियर भएको थियो । यसमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ ।
सिनेमाको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । सिनेमाको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सह-निर्माता हुन् ।















