काठमाडौं : फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘आउटलः दफा २१९’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । दर्शकको ध्यान खिच्न सफल यो सिनेमाको एक्सनलाई दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा आएका प्रतिक्रियाहरुले पनि यो सिनेमा र यसका मुख्य नायक सुशिल श्रेष्ठले दर्शकको ध्यान खिचेको प्रष्ट देखिन्छ ।
नायक श्रेष्ठ ४ वर्षपछि दर्शकमाझ आउँदैछन् । यसपटक, उनको एङ्ग्री लुक्सलाई दर्शकले मन पराएका छन् । अधिकांश दर्शकले सिनेमाले हलिउड स्टाइल एक्सन र मेकिङ शैली अपनाएको भन्दै तारिफ गरेका छन् । सार्वजनिक भएको २ दिनमै ११ लाख भ्यूज बटुलेको सिनेमाले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । यतिमात्र होइन, सुशिलका विभिन्न अन्तरवार्तामा पनि दर्शकले उनीप्रति अथाहा प्रेम देखाएको हेर्न सकिन्छ ।
ट्रेलरमा सिनेमाको मेकिङ, स्टाइल, सुशिलको एक्सन उत्कृष्ट देखिएको छ । यसैले, फागुन २९ गते बक्स अफिसमा यो सिनेमाले उत्साहजनक व्यापार गर्न सक्ने आँकलन गरिएको छ । विक्की महर्जनको निर्देशनमा तयार भएको सिनेमामा अमित अग्रहरिको लगानी छ । सिनेमालाई साहिल खानले सम्पादन गरेका हुन् भने सिनेमामा चुल्ठे काजीको एक्सन कोरियोग्राफी छ ।
नेपालमा पछिल्लो समय एक्सन सिनेमाको लहर नै चलेको छ । दर्शकको ध्यान पनि एक्सन सिनेमाले तानिरहेका छन् । यस्तो अवस्थामा अन्तरराष्ट्रिय स्तरको एक्सन समावेश यो सिनेमाले दर्शकको ध्यान खिच्ने देखिएको छ । सिनेमामा सुशिलको साथमा नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय छ ।















