Sur Cinema

सिनेमामा मैले गरेको पात्र च्यालेन्जिङ्ग छ : सुपुष्पा भट्ट

काठमाडौं : अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट आफ्नो आगामी रिलिज ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि सोलो नायिकाको रुपमा फर्कदै छिन् । सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो सिनेमा उनको होम प्रोडक्सन हो । सिनेमाका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन् । सिनेमा रिलिजका लागि केही दिनहरू मात्र बाँकी छन् । रिलिज मिति नजिकिँदै गर्दा सिनेमाका बारेमा गफिँदा सुपुष्पामा सिनेमा र सिनेमामा आफूले गरेको कामप्रति ‘फिङ्गर क्रस’ भाव देखिन्थ्यो । यद्यपि, कुराकानी बढ्दै जाँदा सिनेमा राम्रो बनेकोमा उनी ढुक्क भएको महसुस गर्न सकिन्थ्यो ।

सिनेमामा आफू फिलिली गर्ल बन्न पाउँदा आफू सबैभन्दा माथि पुगे जस्तो भएको सुपुष्पा बताउछिन् । उनी भन्छिन् , प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो। राम्रो सिनेमामा काम गर्न पाएँ भनेर खुशी भएँ।’

‘मैले निर्वाह गरेको चरित्रलाई मैले सक्ने मेहनत गरेको छु । त्यो कति फलदायी भयो भन्नेचाहिँ दर्शकबाट बुझ्न बाँकी छ।’ यो सँगै फेरि उनलाई पात्रका लागि चाहिनेजति तयारी नपुगेको हो कि भन्ने पनि छ । यसैबीच अर्को सिनेमालाई पनि समय दिएकाले आफ्नो मेहनत नपुगेको हो कि भन्ने लागेको सुपुष्पा सुनाउछिन ।

सिनेमामा उनले गरेको पात्र ‘च्यालेन्जिङ’ भएको उनको भनाइ छ। त्यही च्यालेन्जिङ भएकैले उनलाई दर्शकले यसलाई कुन रूपमा लेलान् भन्ने चिन्ता भइरहेको छ। ‘चिन्ता पनि छ अनि राम्रो हुन्छ भन्ने पनि छ। एक प्रकारले राम्रो आशा र के होला भन्ने नर्भसनेस भइरहेको छ,’ उनले भनिन्।

सिनेमा फागुन १४ गते शिवरात्रिका दिन रिलिज हुँदैछ । सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।