Sur Cinema

चार महिनामा सम्पन्न भयो ‘बलिदान’को छायाङ्कन

काठमाडौं : घोषणादेखि नै चर्चामा रहेको नेपाली सिना ‘बलिदान’को छायाङ्कन चार महिनामा पूरा भएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट सिनेमा निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायाङ्कन चरण पार गरेको जानकारी दिएका छन् । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो ।

यस सिनेमामा पहिलो सिनेमा ‘१२ गाउँ’बाट व्यापक चर्चा पाएका अभिनेता समीर भट्टको प्रमुख भूमिका र साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका दिग्गज कलाकारहरूको अभिनय रहनुले यो सिनेमालाई थप विशेष बनाएको छ ।

‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित रहेको बताइएको छ । सिनेमामा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेका थिए । यस सिनेमाको क्लाइमेक्स दृश्यहरू छायाङ्कनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसको व्यापक चर्चा भएको थियो ।

यस सिनेमाको लागि साङ्गीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरूले सङ्गीतका विभिन्न पक्षहरूमा कार्य गरेका छन् ।  गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले ‘बलिदान’का गीत, सङ्गीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छ । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस सिनेमामा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।