Sur Cinema

‘माया प्रीति’ लिएर आउँदै निशा

काठमाडौं : वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा बन्ने सिनेमा ‘माया प्रीति’ घोषणा गरिएको छ । रोमान्टिक कमेडी श्रेणीमा आधारित यो सिनेमालाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । सिनेमाका कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की छन् भने सिनेमाको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन् ।

‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो । यस सिनेमाको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन् ।

निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हो, जसले सहज वा असहज परिस्थितिमा पनि प्रेमको मूल्यलाई एकसमान राख्छ । “सहज परिस्थितिमा त जसले पनि प्रेम गर्न सक्छ, तर यो कथा त्यस्ता पात्रको हो, जसले असहज परिस्थितिमा पनि सहजताका साथ प्रेमलाई बचाउँछ,” श्रेष्ठले सिनेमाको कथाबारे बताए ।

यस सिनेमाबाट निर्देशनमा डेब्यू गर्न लागेका श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गरेका थिए । उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा पनि काम गरेका छन् । प्रणव जोशी चर्चित सिनेमा ‘रेशम फिलिली’का निर्देशक हुन्, जो यस पटक ‘माया प्रीति’का क्रिएटिभ निर्देशकका रूपमा रहनेछन् । उनी एक कुशल एआइ कलाकार पनि हुन् ।

अभिनय यात्रामा थुप्रै हिट सिनेमामा काम गरेकी लोकप्रिय अभिनेत्री निशा अधिकारी यस सिनेमामा कार्यकारी निर्माताको रूपमा रहेकी छन् । त्यस्तै, कार्यकारी निर्माताको रूपमा नै फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन् ।‘माया प्रीति’ मार्फत सिनेमा निर्माण सुरु गरेको वन टू थ्री स्टुडियोजले आगामी दिनमा लगातार अन्य सिनेमा निर्माण गर्ने तयारी गरिरहेको छ ।