काठमाडौं : नायक सुशिल श्रेष्ठको एक्सनका कारण चर्चा र प्रतिक्षामा रहेको सिनेमा ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । यो सिनेमामा सुशिलले नेपाली सिनेमामा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माणपक्षको छ ।
केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ । अब, भने सिनेमा रिलिजका लागि पूर्ण रुपमा तयार भएको निर्माणपक्षको भनाई छ । यसैबिच, यो सिनेमाका लागि सुशिल आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्यका लागि सुशिलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन गरेका थिए । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाई छ । यसले, पनि सुशिलको मिहिनेत सिनेमामा कती छ भन्ने प्रष्ट हुन्छ ।
निर्माणपक्षका अनुसार, सिनेमामा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो सिनेमालाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । सिनेमामा अमित अग्रहरिको लगानी छ ।
सिनेमामा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारि लगायतका कलाकारहरुको अभिनय छ । चुल्ठे काजीको एक्सन रहेको यो सिनेमामा साहिल खानको सम्पादन नविन गुरुङको डीओपी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको सिनेमामा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।















