काठमाडौं : नायक पल शाहलाई महोत्सवमा भ्याई नभ्याई छ । उनी हरेक दिनजसो महोत्सवमा नाचिरहेका हुन्छन् । उनले महोत्सवमा आफ्ना हिट गीतमा दर्शक झुमाइरहेका छन् । तर, विगत केही दिनदेखि भने पललाई महोत्सवमा ‘मायाबी’ लागेको छ ।
फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो सिनेमाको प्रचारमा पल कुदिरहेका छन् । उनले, बेनीमा आयोजना भएको महोत्सवमा सिनेमाको ‘टल टल’ बोलको गीत रिलिज गरेका थिए । उनी बारा पुगेर फेरि यही गीतमा दर्शकसँग झुमेका छन् । यतिमात्र होइन, पलले दर्शकलाई सिनेमाको विषयमा प्रश्न सोधे र टिसर्ट समेत उपहार दिए ।
दर्शकहरु सिनेमा हेर्नका लागि निकै आतुर रहेको पलको वुझाई छ । सिनेमाप्रति दर्शकको बढ्दो उत्साहले आफू निकै खुशी भएको पलको भनाई छ । नायक शाहले ‘मायावी’ एउटा विशुद्ध प्रेमकथा र मित्रताको कथामा बनेको सिनेमा भन्दै दर्शकलाई हेर्न आग्रह गरेका थिए ।
सिनेमाको दोस्रो गीत ‘टलटल’लाई दर्शकहरुले रुचाइरहेका छन् । यसैले, अहिले महोत्सवमा यो गीतको पनि माग बढेको पलको भनाई छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको सिनेमामा पलको साथमा दीपिका प्रसाँई, सुशिल सिटौला, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, नव–नायक समिम खान लगायतका कलाकारहरुको अभिनय छ ।दर्शकले लामो समयदेखि एक विशुद्ध प्रेमकथामा बनेको सिनेमा हेर्न नपाइरहेको समयमा ‘मायावी’ रोजाइमा पर्ने विश्वास निर्माणपक्षको छ ।















