काठमाडौं : फागुन १४ गते महाशिवरात्रिको अवसर पारेर सिनेमाघरमा आउन लागेको सिनेमा ‘लाज शरणम्’ले आफ्नो दर्शक र प्रशंसकलाई सहभागी गराउने नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत सिनेमाका शीर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको हो ।
निर्माण पक्षका अनुसार, सहभागीहरूले लोकपपसँगै आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागिताका लागि यी पाँच विधामध्ये कुनै पनि विधा छान्न सकिने बताइएको छ । सहभागीहरूले सिनेमा ‘लाज शरणम्’को इमेलमा पठाउन सक्नेछन् ।
प्रतियोगीले तयार पारेका भिडियोहरु ‘लाज शरणम्’को आधिकारिक टिकटक अकाउन्टमा अपलोड गरिनेछ । निर्माण टिमले भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी विजेतालाई आकर्षक पुरस्कार प्रदान गर्ने जनाएको छ । यो प्रतियोगिता माघ १ गतेदेखि १५ गते राति १२ बजेसम्म खुला रहनेछ ।
कुमार कट्टेल ‘जिग्री ब्रो’को निर्देशन रहेको सिनेमामा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यो सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माताको रूपमा हुनुहुन्छ भने सुदीप बरालको छायांकन छ ।















