Sur Cinema

हाँस्न गएका दर्शकलाई भावुक बनाएर फर्काउँदैछ ‘झिंगेदाऊ २’

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिंगेदाऊ २’ ले दर्शकको ध्यान खिचिरहेको छ। पारिवारिक सम्बन्ध, आमाबाबुप्रतिको माया र सन्तानको जिम्मेवारीलाई कथाको केन्द्रमा राखेको सिनेमाले हलमा हाँसोसँगै भावुकता पनि बाँडेको छ।

केकी अधिकारी र आँचल शर्माको देवरानी जेठानी सम्बन्धका रमाइला संवाद र परिस्थितिले दर्शकलाई खुबै हँसाउँछन्। तर, कथा अन्त्यतिर पुग्दै गर्दा यही हाँसो भावुकतामा बदलिन्छ। आमाको माया, खोजी र बिछोडका दृश्यले दर्शकको मन छुन्छ।

निर्देशक ज्ञानेन्द्र देउजाले आमाको खोजीमा निस्किएका दाजुभाइ तथा देवरानी–जेठानीको यात्रामार्फत पञ्चायतकालीन नेपाली समाज र पारिवारिक संरचनालाई प्रस्तुत गरेका छन्। कथा पुरानो समयको भए पनि सिनेमाले उठाएको पारिवारिक भाव आज पनि उत्तिकै सान्दर्भिक छ।

सिनेमाले एउटा सरल तर गहिरो सन्देश दिन्छ—बाबुआमा साथमा हुँदा नै माया, सम्मान र समय दिनुपर्छ। गुमाइसकेपछि हुने पश्चात्तापले उनीहरूको अभाव पूरा गर्न सक्दैन।


त्यसैले ‘झिंगेदाऊ २’ मनोरञ्जनमा मात्र सीमित छैन । छोराछोरीले बाबुआमासँगै र अभिभावकले आफ्ना सन्तानसँगै हेर्नुपर्ने भावनात्मक पारिवारिक कथा बनेको छ। हाँसाउँदै सुरु हुने सिनेमाले अन्त्यमा आँखामा आँसु र मनमा परिवारको सम्झना छाड्छ।