काठमाडौं : सिनेमा ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंस्थित जय नेपाल हलमा कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा चमेली पात्रको विवाहपछि सुरु हुने दाम्पत्य जीवन, सम्बन्धमा आउने उतारचढाव र पारिवारिक घटनाक्रमलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । सिनेमामा अभिनेत्री सुरक्षा पन्त र अभिनेता मुकुन भुसाल मुख्य भूमिकामा छन् । पतिपत्नीको भूमिकामा रहेका सुरक्षा र मुकुनबीचको झगडा तथा नोकझोकले ट्रेलरमा हास्यरस थपेको छ ।
एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको सिनेमा असोज १६ गतेदेखि प्रदर्शनमा आउनेछ । सिनेमामा सुरक्षा र मुकुनसँगै नारायण त्रिपाठी ‘प्रेम चरो’, विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन ‘खबपु’, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा र अनुष्का नारायणलगायत कलाकारको अभिनय छ ।

‘प्रेम चरो’का रूपमा परिचित नारायण त्रिपाठीले यही सिनेमामार्फत करिब दुई दशकपछि अभिनयमा पुनरागमन गरेका छन् ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् । शेरबहादुर तामाङले छायांकन गरेको सिनेमाका कार्यकारी निर्माता उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य छन् । सह–निर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदीपकुमार सापकोटा रहेका छन् ।
धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको सिनेमामा कुमार महर्जनको द्वन्द्व निर्देशन र बन्दे प्रसादको सम्पादन छ । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

















