काठमाडौं : निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली सिनेमा ‘बसन्ती’ निर्माणको घोषणा गरेका छन्। शुक्रबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको औपचारिक घोषणा गरिएको हो।
रायमाझीको निर्देशनमा बन्न लागेको यो चौथो सिनेमा हो। यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए। सिनेमाको छायांकन शनिबारदेखि काठमाडौंमा सुरु हुनेछ भने पाल्पा, जनकपुर, बुटवल र भारतका विभिन्न स्थानमा पनि छायांकन गरिनेछ।
रिमा फिल्मस् प्रालिको प्रस्तुतिमा बन्ने सिनेमामा खेम सेन्चुरी र टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन्। सुशील पोखरेल, तारा शर्मा, संगीता थापालगायत कलाकारको पनि अभिनय रहनेछ।

सिनेमाको कथा रमेश बिजीले लेखेका हुन् भने लगानी नारायण रायमाझीको रहनेछ। छायांकन शिव ढकाल, सम्पादन नहकुल खड्का तथा संगीत बीबी अनुरागी र नारायण रायमाझीको रहनेछ।
यसअघि २०५७ सालमा नीर शाहको निर्देशनमा ‘बसन्ती’ नामकै सिनेमा निर्माण भएको थियो। २६ वर्षपछि सोही नाममा रायमाझीले नयाँ सिनेमा निर्माण गर्न लागेका हुन्।

















