काठमाडौं : नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी–हरर सिनेमा ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गते (अक्टोबर ९) नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शनिबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
सिनेमाको ट्रेलर भने सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रमबीच सार्वजनिक गरिनेछ। कार्यक्रममा भुटानबाट कलाकार तथा निर्माण टोलीसमेत सहभागी हुने जनाइएको छ।
संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा बनेको सिनेमालाई डीडी किन्लेले लेखन, निर्देशन तथा सम्पादन गरेका हुन्। संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।

सार्वजनिक पोस्टरले रहस्यमय सुरुङ र ‘पहाडमुनिको श्राप’लाई केन्द्रमा राखेको सिनेमाको हरर तथा जम्बी कथालाई संकेत गर्छ। सिनेमामा नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता छ।
निर्माण टिमका अनुसार नेपाल र भुटानपछि सिनेमालाई एसिया, उत्तर अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन गर्ने तयारी गरिएको छ। सिनेमाको टिजर यसअघि अगस्ट १४ मा सार्वजनिक भइसकेको छ।

















