काठमाडौं : अर्जुन सुवेदीले नयाँ सिनेमा ‘सोल्टिनी’ घोषणा गरेका छन् । सोमबार सार्वजनिक गरिएको परिचयात्मक भिडियोमार्फत सिनेमाका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस सिनेमाको औपचारिक घोषणा गरिएको हो ।
भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले सिनेमाको भाव व्यक्त गरेको छ । भिडियोमा समाबेश संवादले यस सिनेमामा अपुरो प्रेमको गहिरो कथा रहेको अनुमान गर्न सकिन्छ । सिनेमाको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियो जनाइएको छ भने सिनेमामा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो सिनेमाले पुस १५ बाट छायाङ्कन सुरु गर्ने तयारी गरेको छ । हाल सिनेमाका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ । सिनेमा घोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ ।















