Sur Cinema

‘बम बहादुर’ ट्रेलर : बिद्रोही भुमिकामा सौगात

काठमाडौं : अभिनेता सौगात मल्ल अभिनीत पुस ५ गते रिलिज हुने सिनेमा ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् ।

ट्रेलरमा ‘साहस र सङ्घर्षको नभनिएको कथा’को रूपमा भारतको दार्जिलिङ क्षेत्रको कथा उठान गरिएको छ । यसअघि टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन । शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको थियो भने ट्रेलरमा एक युवाको मुक्ति सङ्घर्षलाई प्राथमिकतामा राखिएको छ ।

नेपाल र भारतमा एकै दिन रिलिज हुने यो सिनेमा १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमाथि आधारित छ । निर्देशक राईले यो सिनेमालाई भारतका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासको डिजिटल दस्ताबेजको रूपमा परिभाषित गरे । निर्माता सञ्जीव सार्कीले आजका र भोलीका सन्ततिले आफ्नो इतिहास बिर्सिन नहुने ध्येयले यो सिनेमा बनाएको बताए ।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस सिनेमाको प्रमुख भूमिकामा सौगात मल्ल रहेका छन् । अन्य कलाकारहरूमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय रहेको छ । 

‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस सिनेमाको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् । यसमा सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् । सिनेमाका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन् । वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।