काठमाडौं : भोलि शुक्रबारबाट रिलिज हुने सिनेमा ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा सिनेमा हेरेपछि अधिकांश सिनेकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिनुभएको छ ।

निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता सिनेमा अझै धेरै बन्नु पर्ने बताए ।

कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पुर्याउछ भन्ने कुरालाई सिनेमाले देखाएको बताए । उनले पुरानो कथालाई सटिक ढंगले प्रस्तुत गरिएको भन्दै तारिफ गरे ।

निर्देशक तथा कलाकार नरेश पौडेलले सिनेमाले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार गरेको बताए । उनले यसलाई घिनलाग्दो कुरुतीलाई विद्रोही प्रहारको संज्ञा दिए ।

कलाकार लोकेन्द लेखकले ‘अग्निदहन’ सामाजिक विकृति विसंगति र खासगरी बोक्सी प्रथा विरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताए ।

कलाकार तेज गिरीले अर्काको लाशमाथि टेकेर पाएको जीवनले मनमा र अर्काको लाशमाथि टेकेर पाएको राजनीतिले जीवनमा कहिल्यै शान्ति मिल्दैन भन्दै तारिफ गरे ।
घनश्याम लामिछाने निर्देशित सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।
सिनेमामा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।















