Sur Cinema

‘ह्रस्व दीर्घ’को मर्मस्पर्शी गीत ‘भगवान् नै आमा हुन्’

काठमाडौं : यही शुक्रबारदेखि सिनेमाघरमा आउन लागेको सिनेमा ‘ह्रस्व दीर्घ’को नयाँ गीत ‘भगवान् नै आमा हुन्’ सार्वजनिक गरिएको छ । आमाको महिमा वर्णन गरिएको गीत मर्मस्पर्शी छ । सार्वजनिक गीतमा सत्यराज आचार्यको गायन तथा बाबुल गिरीको शब्द रचना छ ।

लिरिकल भिडियोमा सिनेमाभित्रका चल÷अचल दृश्य समावेश छन् । सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा छ । अभिनेत्री विपना थापालाई आमाको रुपमा चित्रित गरिएको छ । उहाँको अभिनय मनछुने छ । उहाँले यही सिनेमाबाट १३ वर्षपछि कमब्याक गरेका छन् ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको यो सिनेमामा नेपाली र दक्षिण भारतका कलाकारहरूको अभिनय छ । सिनेमामा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपनासँगै नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा लगायतको अभिनय छ ।

हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका प्रसिद्ध छायाँकार कवीरलालले खिच्नुभएको हो । नीता ढुंगाना निर्माता र धनन्जय गलानी कार्यकारी निर्माता रहेको सिनेमा विश्वभर नेपाली र हिन्दी भाषामा सार्वजनिक हुनेछ । तेलुगु भाषामा पनि सिनेमालाई स्वरांकन गरिएको छ ।