काठमाडौं : वेलडन क्रियसनको व्यानरमा निर्माण भएक सिनेमा ‘तेल भिसा’को छायांकन सकिएको छ। निर्माण टिमले ३५ दिनमा सिनेमाको छायांकन सकेको हो।
अमेरिकामा ७० प्रतिशत छायांकन गरेर फर्किएको टिमले नेपालमा ३० प्रतिशत छायांकन गरेको हो। नेपालको छायांकन चाहिँ चितवनमा गरिएको हो। सेट लगाएर गरिएको छायांकनको अन्तिम दिनमा अर्थात् इन्डक्ल्यापमा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल समेत पुगेकी थिइन्।
रेनुले भरतपुरमा सिनेमा छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै तेल भिसालाई सफलताको शुभकामना समेत दिएकी थिइन् । यस्तै, सिनेमाले उठाएको विषयवस्तु गहन भएकाले आफु यो सिनेमा हेर्न समेत उत्सुक भएको पनि बताइन् ।
ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमाका निर्देशक शंकर घिमिरे हुन् । निर्देशक घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका सिनेमा निर्माण तथा निर्देशन गरेका थिए । यो सिनेमामा अभिनेता विपिन कार्की पहिलो पटक दोहोरो भुमिकामा देखिएका छन् ।
सिनेमामा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पुजा चन्द र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।
सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।















