काठमाडौँ । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नम्बरी सुन’ले सिनेमा हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार सिनेमा युनिटले गरेको पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सिनेमाका तर्फबाट सुन उपहार दिने घोषणा गरेका हुन् ।
उनले खल्ती एपबाट सिनेमा ‘नम्बरी सुन’को टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जनालाई दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे । उनले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने खुलाए । प्रस्तुतकर्ता खाती पेशाले सुन व्यवसायी हुन् ।
सिनेमाका निर्देशक राजु गिरीले सिनेमाले झण्डै ७० वर्ष अघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताए । ‘अहिलेका दर्शकले मनपराउने फ्लेभरको माया प्रेम, सेन्टिमेन्टल र कमेडी फ्लेभर सिनेमामा छ’, उनले भने ।
सिनेमाकी नायिका नम्रता सापकोटाले सिनेमामा आफूले प्रेम प्राप्त गर्न संघर्षरत ग्रामीण युवतीको भूमिका निर्वाह गरेको बताइन् । ‘अहिलेसम्म मैले गरेका सिनेमाभन्दा केही फरक काम ‘नम्बरी सुन’मा छ’, उनले भनिन् ।
नायक विनोद न्यौपानेले सिनेमामा आफू सहायक चरित्रमा देखिए पनि त्यो चरित्र दर्शकले मनपराउने दाबी गरे । सिनेमामा गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।















