Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘घर ज्वाईं’को दोस्रो गीत ‘यानीमाया’: ससुराको दबाबमा दया

काठमाडौं : अनिल बुढामगर निर्देशित सिनेमा ‘घर ज्वाईं’को दोस्रो गीत रिलिज गरिएको छ। निर्माण टिमले शनिबार ‘यानीमाया’ बोलको गीत रिलिज गरेको हो। गीतमा मनोज थापा मगरको संगीत र स्वर रहेको छ। गीतका शब्दहरु भने हर्क साउदले लेखेका हुन्।

गीत निकै मौलिक छ। गीतमा समावेश भाका विशेषगरि म्याग्दी, बाग्लुङ, रोल्पा र रुकुम पुर्व वरिपरि निकै प्रचलित मौलिक भाका हो। पछिल्लो समय यस्ता भाकाहरु लोप हुँदै गईरहेको समयमा ‘घर ज्वाईं’ टिमले भने मौलिक भाका जोगाउन तिर उन्मुख भएको छ। सुनिरहँदा निकै आनन्द दिन्छ ‘यानीमाया’ गीतले।

यता भिडियोको कुरा गर्नुपर्दा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्। भिडियोमा घर ज्वाईं बसेका दयाले ससुराको दबाबमा डोको बुन्न सिकेका छन्। यति मात्रै नभएर दयाले अन्य कामहरु गर्न पनि सिकेका छन्। यो सब मिरुनाको मायाले गर्दा नै दया कुनै पनि कुरामा पछि परेका छैनन्।

भिडियोमा साँच्चिकै दया र मिरुनाको गजबको केमिस्ट्री देखिएको छ। मिरुनासँग रुष्ट झै देखिए पनि भिडियोमा दयाले मनमनै माया गरेको आभाष हुन्छ। जे होस् भिडियो हेर्दा पनि दर्शकलाई छुट्टै आनन्द मिल्छ।

मौलिक कथामा निर्माण भएको सिनेमाका लेखक पनि अनिल बुढा मगर नै हुन्। सिनेमामा अनिल बुढा मगर, विनोद खतिवडा र सुवास कोइरालाको पटकथा रहेको छ। जिएम मुभिज प्रोडक्सनको प्रस्तुति रहेको सिनेमाको रुकुमका विभिन्न स्थानमा छायांकन गरिएको हो।

दया र मिरुनाका अलावा सिनेमामा शिशिर बाङ्देल, राज थापा मगर, कविता आलेमगर, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सिनेमालाई सुशान प्रजापतिले खिचेका हुन् भने कृष्ण भण्डारीले सम्पादन गरेका छन्।