काठमाडौं : छायाङ्कनमा निस्केको ४८ औँ दिनमा नेपाली सिनेमा ‘पुजार सार्की’को प्याक अप भएको छ । मङ्गलवार सिनेमामा रहेको ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायाङ्कनसँगै सबै युनिट काठमाडौं फर्किएको निर्देशक दिनेश राउतले बताए ।
अन्तिम दिन छायाङ्कन भएको यस गीतमा सिनेमाका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका छन् ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ सिनेमामा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पुजार सार्की’ चर्चामा रहँदै आएको छ । यस सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ ।
कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँ र आसपास छायाङ्कन गरिएको यो सिनेमालाई विकास सुवेदीले लेखेका छन् । सिनेमालाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । यस सिनेमामा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।
राजेश श्रेष्ठको डिओपी रहने ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।
हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो सिनेमा किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।















