काठमाडौँ : धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली सिने क्षेत्रलाई समेट्ने जानकारी दिएका छन् । धरानमा गरिएको ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली सिनेमासँगै कला, संस्कृतिसँग आफू नजिक रहेको बताए ।
‘नेपाली सिनेमालाई सम्बोधन गर्ने गरी म बजेटमा समेट्छु, धरानले सिनेमालाई हेर्यो र सोच्यो भन्ने आभाष पक्कै हुनेछ । म सिनेमा, कला र साहित्यसँग जोडिएको र गम्भीर रुपमा सोच्ने व्यक्ति हुँ’, मेयर साम्पाङले भने,‘धरानमा सिनेमा छायांकनमा लागि सहज हुने गरी आफूले चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी सार्वजनिक गर्छु ।’

उनले अभिनेता हरिवंश आचार्यलाई हाँस्न र बाच्न सिकाउने कलाकारका रुपमा बुझेको सुनाए । ‘कलाकारलाई माया मोबाइलमा गरेर हुँदैन, यसका लागि हलसम्म पुग्नु पर्छ । त्यसैले नेपाली सिनेमा हलमै हेर्ने गरौँ, यो ‘महाजात्रा’ पक्कै राम्रो बनेको छ । किनकि हरिवंश जस्तो कलाकार यत्तिकै सिनेमामा अभिनय गर्नु हुँदैन भन्नेमा विश्वस्त छु’, उनले भने ।
संवाद कार्यक्रममा अभिनेता हरिवंश आचार्यले धरानमा सिनेमा ‘बलिदान’को छायांकन गरेको स्मरण गर्दै छायांकनको गन्तव्यका रुपमा व्याख्या गरे । ‘यो सिनेमाको लागि राम्रो स्थान हो । मेयर साबले भन्नुभए झैँ सिनेकर्मी यहाँ गतिविधि बढाउने छन् । हामीलाई नयाँ गन्तव्य र दर्शक चाहिएको छ’, उनले भने ।

सिनेमा ‘महाजात्रा’का कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाले स्थानीय सरकारसँग आफूहरूले ठुलो सहयोगको भन्दा पनि हातेमालोको अपेक्षा गरेको बताए । उनले, सिनेमा छायांकनका क्रममा आउँदा लोकेसनदेखि थुप्रै कुराहरूमा अन्योल हुने भन्दै त्यसमा सहजीकरण गरिदिन मेयर साम्पाङसँग अनुरोध गरे ।
सिनेमा ‘महाजात्रा’का नायक विपिन कार्कीले छायांकन स्थलको कहिलेकाहीँ लफडा पर्ने बताए । उनले यसमा सहजता भयो भने काम गर्न सजिलो हुने धारणा राखे । कलाकार रवीन्द्र झाले सिनेमा छायांकनका लागि स्टुडियोको आवश्यकता रहेको बताए । उनले, धरानमा पनि सिनेमा स्टुडियो भएको खण्डमा काम गर्न सजिलो हुने बताए ।
नायिका वर्षा राउतले पनि लोकेशनदेखि काम गर्ने सहजताका स्थानीय सरकारले काम गर्न सक्ने बताइन् । उनले महिला कलाकारहरूलाई छायाङ्कनका समयमा थुप्रै समस्या भोग्नुपर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले समन्वय गर्न सक्ने बताइन् ।
कार्यक्रममा याक्थुम चलचित्रकर्मी महासंघका अध्यक्ष नवीन मेन्याङ्बो, अनाम रङ्गमञ्चका अध्यक्ष विजय सुब्बा, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनक ऋषि राईले धरानमा नाटक र सिनेमाको समस्या र गर्नुपर्ने कामको विषयमा चर्चा गरेका थिए । चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘महाजात्रा’को टिम सिनेमा प्रचारका लागि देश दौडाहामा छ ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । सिनेमामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।
सिनेमामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।















