काठमाडौं : लाहुरे जीवनलाई पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर हेरिए पनि यसभित्रका पारिवारिक उतारचढाव र भावनात्मक पीडालाई सिनेमा ‘पेन्सन पट्टा’ले पर्दामा ल्याउने भएको छ । माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै यसको विषयवस्तुबारे चासो बढेको छ ।
सिटी सेन्टरस्थित बिग मुभिजमा सार्वजनिक ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नभई बाबुकी पहिलो पत्नीको नाम भेटिएपछि जेठी आमाको खोजीमा निस्किएको पात्रको कथा देखाइएको छ । यो खोजीमार्फत लाहुरे परम्पराले परिवार, सम्बन्ध र पहिचानमा पारेको प्रभावलाई उजागर गर्न खोजिएको छ ।
गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राईलगायत कलाकारको अभिनय रहेको सिनेमा भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ । मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।

सिनेमाको ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।


















