काठमाडौं : नायक पल शाहको निर्माण तथा अभिनय रहेको सिनेमा ‘यानीमाया’को प्रदर्शन अधिकार ६ देशमा बिक्री भएको छ। निर्माणपक्षका अनुसार हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, कतार र थाइल्याण्डमा सिनेमाको प्रदर्शन अधिकार बिक्री गरिएको हो।
अन्य देशमा पनि प्रदर्शनका लागि कुराकानी भइरहेको र चाँडै टुंगो लाग्ने निर्माणपक्षले जनाएको छ। ‘मोहर’ र ‘आ बाट आमा’पछि विदेशी बजारमा पल शाहको क्रेज बढेको बताइएको छ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भइरहेको सिनेमाको ४० दिने छायांकन तालिका तय गरिएको छ। सिनेमामा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्कालगायत कलाकारको अभिनय रहनेछ।

सामाजिक प्रेमकथामा आधारित सिनेमामा चन्द्र ज्योती आले र पल शाहको लगानी छ। ‘यानीमाया’लाई आगामी फागुन ७ गते रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ।


















